ब्रिटिस गोर्खा लगायत विदेशिएका नेपालीलाई नागरिकता दिन संविधान र कानुन संशोधन गर्नुपर्ने सुझाव

36Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
pinterest sharing button
sharethis sharing button

काठमाडौँ । ब्रिटिस गोर्खा लगायत विभिन्न कारणले विदेशिएका नेपाली नागरिकलाई पुनः नेपाली नागरिकता प्रदान गर्न संविधान र कानुनमा संशोधन आवश्यक रहेको धारणा सरोकारवालाहरूले व्यक्त गरेका छन्।

शनिबार ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान बेलायत नेपालले आयोजना गरेको ‘सुगौली सन्धि र नेपालमा नागरिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रम’मा सहभागी वक्ताहरूले नेपाली नागरिकको पहिचान जोगाउन तथा राज्यविहीन बन्न नपरोस् भन्ने उद्देश्यले नागरिकता ऐनमा सुधार आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नागरिकता विधेयक समितिमा आइसकेको जानकारी दिँदै भने, “कानुन बनाउँदा राजनीतिक गन्ध आउनु हुँदैन। आमाको नाममा आधारित भएर नागरिकता दिनुपर्ने माग आएको छ, गृह मन्त्रालय पनि संशोधनको जुनसुकै प्रकार स्वीकार गर्न तयार रहेको छ।”

उनले विदेशीएका नेपालीलाई नेपाल सम्भव छ भन्ने अनुभूति दिलाउन नागरिकता ऐन ल्याउनु आवश्यक रहेको उल्लेख गरे। “हामी कुनै पनि नेपाली नागरिक देशविहीन नहोस् भन्ने दृष्टिकोणमा छौं,” उनले भने।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अमरबहादुर बुढाले संविधानअनुकूल ऐन बनाइनुपर्ने आवश्यकता औंल्याउँदै भने, “राज्यले सम्झौताका आधारमा पठाएका नेपालीलाई पछि नागरिकता नदिने भन्ने मिल्दैन। संविधानसँग नबाझिने गरी कानुन निर्माण हुनुपर्छ।”

त्यस्तै संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले संविधानले दुईवटा नागरिकता दिन नपाउने व्यवस्था गरेकाले यसको समाधान कानुनबाट खोज्नुपर्ने बताए। उनले भने, “विदेशमा जन्मिएका ब्रिटिस गोर्खा सन्ततिलाई वंशको आधारमा स्वतः नेपाली नागरिकता दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्छ। यसले पूँजी पलायन रोकिनेछ र विदेशी मुद्राको भुक्तानी राष्ट्र बैंकमार्फत हुने सम्भावना रहनेछ।”

सांसद राजेन्द्र पाण्डेले नागरिकता विधेयकमाथि छलफल सुरु भइसकेको बताउँदै प्रारम्भमै सरोकारवालाहरूलाई बोलाएर सुनुवाइ गरिने आश्वासन दिए। सांसद दिलेन्द्र बडुवालले आफ्नै भूमिमा नागरिकताको खोजी गर्दै हिँड्नुपर्ने अवस्था दुःखद भएको बताए।

सांसद अशोक राईले नागरिकता ऐन सबै नेपालीलाई समेट्ने गरी निर्माण गर्नुपर्ने उल्लेख गरे। “नागरिकता सजिलो बनाउँदा दुरुपयोग हुने डर भए पनि प्रक्रियागत हिसाबले कसरी दिने भन्नेबारे गम्भीर छलफल भइरहेको छ,” उनले भने।

सांसद प्रकाश अधिकारीले राज्यका लागि लडेका नेपालीले पनि नागरिकता नपाउनु विडम्बनापूर्ण रहेको बताए। उनले विदेशिएका नेपालीलाई फिर्ता ल्याउन नागरिकताको व्यवस्था आवश्यक रहेको धारणा राखे।

सांसद भानुभक्त जोशीले ब्रिटिस गोर्खाहरू नेपाली नै भएकाले उनीहरूलाई पहिचानअनुरूप नागरिकता दिनुपर्नेमा जोड दिए। “उनीहरूले स्वेच्छाले होइन, राज्यको नीतिअनुसार नागरिकता त्यागेका थिए, त्यसैले कानुनी बाटोबाट नागरिकता दिनुपर्छ,” उनले भने।

कार्यक्रममा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान बेलायत(नेपालका संयोजक फुर्पा शेर्पाले अन्तरक्रिया कार्यक्रम सफल भएको बताए। प्रमुख सल्लाहकार कृष्णबहादुर राईले विदेशिएका नेपालीका सन्तानले जन्मसँगै नागरिकता नपाउनु अन्यायपूर्ण रहेको धारणा राखे। कार्यक्रमको सञ्चालन सचिव फुलाक्पा शेर्पाले गरेका थिए।